मानव तस्करीविरुद्ध बोल्दा संसदबाट निकालिन्छ भने निकालियोस् : सांसद सोविता गौतम


काठमाडौं – रास्वपाकी सांसद सोविता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउनु अपराध मानिने हो भने संसदबाट निष्कासन भइदिन तयार रहेको बताएकी छन्।

उनको भनाइमा, सत्ताको संरक्षणमा नेपाली बेचिएको आरोप गम्भीर भएकाले त्यसमा निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म रास्वपा संसदमा निरन्तर आन्दोलनरत रहनेछ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा निलो रिबन बाँधेर शान्त र रचनात्मक विरोध जनाएका रास्वपा सांसदहरूलाई कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले नियमावलीअनुसार चेतावनी दिँदै निष्कासन गर्न माग गरेका थिए। सोको जवाफमा गौतमले तीव्र प्रतिक्रिया दिएकी हुन्।

‘विरोधका पनि विविध आयाम हुन्छन्। रास्वपा सधैँ शान्त, सभ्य र रचनात्मक आन्दोलनमा विश्वास राख्छ,’ उनले भनिन्, ‘मानव तस्करीविरुद्ध ऐक्यबद्धता जनाउन निलो सल लगाएकी हुँ। यदि यही नै नियम उल्लङ्घन हो भने, निकालियोस् संसदबाट।’

उनले भनेकी छिन्, ‘नयाँ पुस्तालाई संसदमा कुटपिट गर्न आउँदैन। विरोधमा उत्रिए पनि हामी कुर्सी भाँच्दैनौं, माइक फोड्दैनौं। कांग्रेसको विरोधमा केपी शर्मा ओलीलाई नै कुटिएको घटना संसदकै अभिलेखमा कैद छ।’

उनको अनुसार आज पनि संसदमा रास्वपाको अवरोध जारी रहनेछ।