काठमाडौं – प्रधानमन्त्री केपी ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा रामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही ३ र गण्डकी प्रदेशसभाको मनाङ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।
प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाएका छन् । उनले २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए । भेटका अवसरमा आयुक्तहरु डा.जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए।
प्रतिक्रिया