काठमाडौं – एमाले नेता गोकुल बास्कोटा धेरै अध्ययन र विश्लेषणपछि मात्रै बोल्ने नेतामा पर्छन् । पत्रकारिता पृष्ठभूमि भएकाले पनि बास्कोटाले दिने अभिव्यक्तिमा तथ्यपरक सूचना हुन्छ । त्यसैले पनि उनले दिने अभिव्यक्ति चर्चामा आउँछन् ।
गत शुक्रबार रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । कांग्रेस नेता नारायण खड्काको समन्वयमा वाग्लेले देउवासँग ४५ मिनेट कुराकानी गरेका हुन् । कांग्रेस छाडेपछि वाग्लेको देउवासँगै यो नै पहिलो प्रत्यक्ष भेट थियो । संसदमा आक्कल झुक्कल नजिक देखापरे पनि दुवैबीच वन इन वन भेटवार्ता भएको थिएन । वाग्लेको अहिलेसम्मको उचाइ देउवाले नै बनाइदिएका हुन् । त्यसैले पनि वाग्ले र देउवाबीचको भेटले तरंग सिर्जना गरेको हो ।
यही विषयलाई लिएर शनिबार एमाले सांसद बास्कोटाले रास्वपा उपसभापति वाग्लेलाई लक्षित गरेर कटाक्ष गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले दिनभर संसदमा तमासा देखाउनेहरू रातभर कांग्रेसका नेताको पिँढीमा गइरहेको बताउँदै कटाक्ष गरेका हुन्।
‘भिजिटर भिसामा संसदमा पलेँटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान्,,’ गोकुलले लेखेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौँ आश्चर्य नमानौँ है।’ बास्कोटाको यो कटाक्षले भित्रभित्रै कांग्रेस र रास्वपाबीच कुनै खिचडी पाकेको त छैन भन्ने आशंका उब्जिएको छ ।
प्रतिक्रिया