अमरेशकै कारण फेरि संसदमा लफडा, सभामुखले यतिसम्म भने


काठमाडौं – स्वतन्त्र सांसद अमेरशकुमार सिंह अन्टसन्ट बोल्नेमा अग्रपंक्तिमा पर्छन् । आफू भन्दा जान्नेसुन्ने कोही छैन भन्दै उनले संसदमा सबैलाई गाली गरिरहेका हुन्छन् । संसदमा धेरैजसो लफडा निकाल्नेमा उनी अग्रपंक्तिमा पर्छन् ।

कहिले लाएका कपडा सबै उतारेर त कहिले प्रमुख दलका शीर्ष नेतालाई मनपरी भन्दै मुख छोड्नेसम्मका क्रियाकलाप उनले गर्दै आएका छन् । यसैक्रममा आइतबारको प्रतिनिधिसभा बैठकमा सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेपछि लफडा भएको छ।

प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलमा बोल्ने क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिउँ भनेपछि एमाले सांसदहरूले आपत्ति जनाए । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाए। ‘यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौ। कारवाही होस्। रुलिङबाट हटाइयोस्,’ उनले भने। लगत्तै सत्ता पक्षका अन्य सांसदहरू पनि सिटबाट उठेर विरोध जनाए।

त्यसपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेका कुरा राष्ट्रहितविपरीत रहेको भन्दै उक्त शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। सभामुखले भने, ‘ माननीय सांसदले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनी बोलेको कुरा बोल्नु भएको छ। यसैले उहाँले संसदमा असंसदीय भाषा प्रयोग गर्नु भएको छ। यसलाई रेकर्डबाट हटाउन मैले आदेश दिन्छु।’ सभामुखले सिंहलाई डायसबाट तल ओर्लन पनि निर्देशन दिएका थिए ।