रास्वपाको नयाँ नीति, विपक्षी सांसदले बोल्दा चुप लाग्ने, कांग्रेस–एमाले बोल्न थालेपछि बाहिरिने


काठमाडौं – भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग्दै सदनको कामकारबाहीमा अवरोध गर्दै आइरहेको रास्वपाले केही दिनयता फरक नीति अवलम्बन गर्न थालेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि आफ्ना कुरा राख्ने र विपक्षी सांसदहरूले बजेटमाथिको छलफलमा भाग लिँदा मौन बस्दै आएका रास्वपा सांसदहरू कांग्रेस र एमाले सांसदहरू बोल्न थालेपछि बाहिरिने गरेका छन् ।

वेल घेरेर एक घण्टाभन्दा बढी समय बैठकमा उभिएका रास्वपा सांसदहरुले बजेटमाथि विपक्षी दलका सांसदले धारणा राख्दा मौन भएर सुनेका थिए ।

आइतबार पनि प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । रास्वपाले शनिबार पनि यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।

रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।