काठमाडौं – कांग्रेस महामन्त्री गगन थापाले शक्तिशाली छानबिन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघ दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर २०४६ पछि विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनुपर्ने बताए। छानबिन गर्दा जो–जो परेपनि त्यसलाई स्वीकार गछौं भनेर कांग्रेसले भन्न सके मात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनको भनाइ थियो ।
थापाले अहिलेका पुस्ताहरूको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूको बीचमा जान नसक्ने धारणा राखे। उनले जुनसुकै कुरामा चित्त नबुझे पनि अव उपरान्त विश्वविद्यालयमा तालाबन्दी नगर्ने, कालोमोसो नदल्ने, तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे।
थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए। अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ। गगनले सुरुदेखि नै शक्तिशाली समिति बनाएर उच्चपदस्थको सम्पत्ति छानबिनको माग गर्दै आएका छन् । पछिल्लो समय यो विषयमा सबैतिर बहस सुरु भएको छ ।
प्रतिक्रिया