काठमाडौं – नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दीप प्रज्वलन गरी र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटी संस्थाको औपचारिक उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै संग्रौलाले ‘इन्भेष्टमेन्ट गुरु’ले शिक्षित र सचेत लगानीकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

संस्थाका सीईओ अमित झाका अनुसार, ‘इन्भेष्टमेन्ट गुरु’ले आम नागरिकलाई वित्तीय साक्षरतामा सशक्त बनाउने र नयाँ तथा इच्छुक लगानीकर्तालाई लक्षित गर्दै कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ।
संस्थाले अनलाइन र भौतिक दुवै माध्यममार्फत शिक्षा दिनेछ। कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ, जहाँ एकैपटक भौतिक र भर्चुअल कक्षा सञ्चालन गर्न सकिने सुविधा छ।
शेयर बजारसम्बन्धी आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण र प्रतिफल मूल्याङ्कन लगायतका विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिनेछ।
संस्थापक झा स्वयं पाँच वर्षदेखि शेयर शिक्षा र परामर्श क्षेत्रमा सक्रिय छन्। उनका अनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको शिक्षा प्रदान गरिनेछ। निकट भविष्यमा देशभर शाखा विस्तार गर्ने योजना समेत रहेको उनले बताए।
प्रतिक्रिया