आर्यघाटको विद्युतीय शवदाह मेसिन खरिद भ्रष्टाचारमा पूर्वमन्त्री सुदन किराँतीलाई जोगाइयो, तर भन्छन्- निर्दाेष छु


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद भ्रष्टाचार प्रकरणमा पूर्व पर्यटनमन्त्री सुदन किराँतीलाई जोगाएर कर्मचारीहरूलाई मात्र मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आइतबार मेसिन खरिद गर्दा १० करोड ३४ लाख भ्रष्टाचार गरेको ठहर गर्दै पशुपति क्षेत्र विकास कोषका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ विरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले परामर्शदाता तथा ठेकेदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरे पनि माओवादीबाट मन्त्री बनेका किराँतीलाई भने बयान कागज गरेर उन्मुक्ति दिइएको छ । किराँतीले भने आफू भ्रष्टाचारमा संलग्न नभएकाे जिकिर गरेका छन् ।

साेमबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकाे दाबी गरेका हुन् । उनले लेखेका छन्- पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ ।

मेरो केही प्रश्न :

– यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन ?

– नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ । यति सम्म कि, बेनामे पनि लाग्छ । सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ?

– सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्ष देखी पूर्व प्रधानमन्त्रीहरु सहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?

– कसैले अख्तियारको दुरपयोग गरि कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नै पर्छ । “भ्रष्टाचार देशको शत्रु हो” म स्पष्ट छु अर्को जुनीको मलाई विश्वास छैन । भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहिरहनेछु ।

पशुपति घाटमा शव व्यवस्थापनमा चाप परेपछि कोषले दुई शवदाह मेसिन खरिद गरेको थियो । दुई वर्षअघि मेसिन खरिदको प्रक्रिया अघि बढाइएको थियो । तर, ठेकेदारसँग मिलेमतो गरेर परामर्श सेवा र ठेक्कामा गरी कुल १० करोड ३३ लाख ९१ हजार हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

जबकि मन्त्री किराँतीले नै विद्युतीय शवदाह मेसिन खरिद गर्न प्रक्रिया सुरु गरेका थिए । त्यसपछि पनि उनले नीतिगत निर्णय गर्दै मेसिन खरिद गर्न भनेपछि कोषले खरिद गरेको स्रोतले जनाएको छ ।

अख्तियारले सदस्यसचिव थापासहित निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशकद्वय रेवतीरमण अधिकारी र सीताराम रिसेल, इन्जिनियरत्रय पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल र कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा छन् । त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी पनि मुद्दाका प्रतिवादी छन् । उनीहरू सबैलाई जनही १० करोड ३३ लाख ९१ हजार बिगो कायम गरिएको छ । ठेकेदार कम्पनी म्याप इन्टरनेसनल प्रालि तथा त्यसका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराईलाई पनि प्रमुख प्रतिवादीसरह बिगो कायम भएको छ ।

परामर्शदाता एप्पल इन्जिनियरिङ प्रोफेसनल र त्यसका सञ्चालक सुरज चापागाईंविरुद्ध पनि हिनामिना भएकै रकमबराबर बिगो दाबी गरेर मुद्दा दायर भएको छ । नयाँ शवदाह मेसिनका लागि अवधारणापत्र, आर्किटेक्चरल डिजाइन, ड्रइङ, अनुमान र स्पेसिफिकेसनसहितको प्रतिवेदन दिने कार्य गराउने प्रक्रिया कोषले अघि बढाएको थियो ।