रविलाई सरकारले प्रतिशोध साँधेको भन्दै हस्ताक्षर अभियानमा सरिक भए चर्चित कलाकार


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । अभियानको नेतृत्व दीपक बोहराले गरेका छन् ।

बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा सञ्चालन भएको ‘जनताको हस्ताक्षर अभियान’ मा कलाकारहरूले पनि साथ दिएका छन् । यसैक्रममा अभिनेताद्वय विपिन कार्की र रमेश उप्रेतीले आइतबार रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टी कार्यालय पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार कारागारबाटै अपिल जारी गर्दै लामिछानेले आफूमाथि भएको प्रतिशोधमा हस्ताक्षर गरेर साथ दिन आग्रह गरेका थिए । सोहीअनुसार पार्टीले अभियान थालेको छ ।

अभियानका संयोजक बोहराले कलाकारहरूलाई फोन गर्दै बोलाएर हस्ताक्षर गराएका हुन् । रमेश उप्रेती र रवि लामिछाने पहिल्यैदेखिका मिल्ने साथी हुन् । विपीनले पनि रविसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन् ।

कुनै पनि सहकारीमा प्रत्यक्ष रुपमा संलग्न नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफूविरुद्ध प्रतिशोधका आधारमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मका मुद्दा चलाइएको रविको आरोप छ । संसदीय छानविन समितिले समेत सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने क्रममा उनको संलग्नता नरहेको भनेर उल्लेख गरे पनि तथ्यहरू नहेरी अदालतले समेत थुनामा राख्ने आदेश दिएको गुनासो रास्वपाका नेताहरूको छ ।