काठमाडौं – प्रधानमन्त्री केपी ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वीनवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण मिथेन ग्याँसको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट गरे । दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको एउटा कुवा मात्र भेटिएको छ । त्यस क्षेत्र वरपर चारवटा कुवा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । धौवादी फलाम खानी भने धेरै पहिल्यै उत्खनन भएर उत्पादन नै नगरी छाडिएको छ ।
प्रतिक्रिया