काठमाडौं । देशभर विद्युत आपूर्तिमा समस्या आएपछि उपभोक्ताको गुनासो तत्काल सुन्न र समाधान दिन नेपाल विद्युत प्राधिकरणले कल सेन्टर सञ्चालनमा ल्याएको छ।
बत्ती गयो, अब कहिले आउँछ ? भन्ने उपभोक्ताको प्रश्नको जवाफ दिन ११५० नम्बरमा कल गर्न सकिने व्यवस्था मिलाइएको छ। यस नम्बरमा डायल गरेपछि उपभोक्ताले आफू रहेको प्रदेशको कोड थिच्नुपर्नेछ। कोसीका लागि १, मधेश २, काठमाडौं उपत्यका ३, उपत्यकाबाहेक वाग्मती ४, गण्डकी ५, लुम्बिनी ६, कर्णाली ७ र सुदूरपश्चिमका लागि ८ नम्बर थिचेपछि कल सम्बन्धित प्रदेशको कल सेन्टरमा पुग्छ।
कल सेन्टरका कर्मचारीले उपभोक्ताको गुनासो सम्बोधन गर्ने मात्र होइन, विद्युत आपूर्तिमा आएको समस्या र समाधान हुन सक्ने समयबारे समेत जानकारी दिन्छन् । यो सेवा सातै प्रदेशमा २४ घन्टा उपलब्ध छ ।
यदि कुनै कारणवश कल केन्द्रमा फोन लागेन भने ‘०’ मा डायल गरेर पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । जसले शनिबारबाहेक साताको ६ दिन काम गर्छ। पहिले प्राधिकरणले सञ्चालन गरेको ‘नो–लाइट’ सेवा धेरै उपभोक्ताले एकैपटक फोन गर्दा प्रभावकारी हुन सकेको थिएन।
प्रतिक्रिया