कान्छाराम संसदमा गर्जिनुको कारण खोतल्दै प्रकाशमानको निजी सचिवालय


काठमाडौं । पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहविरुद्ध कांग्रेसकै सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले आइतबार संसदमा उछितो काढेपछि यसबारे सर्वत्र चर्चा परिचर्चा भएको छ ।

तामाङले रामेछापमा सहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यति मात्र होइन, उनले भगवानलाई पुकारा गर्दै अहिलेका दुवै उपप्रधानमन्त्री सिंह र विष्णु पौडेललाई अर्को संसदमा देख्न नपाइयोस्समेत भने । अर्थमन्त्री पौडेलविरुद्ध बोले पनि आफ्नै पार्टीका सिनियर नेताविरुद्ध बोलेको विषयले कांग्रेसमा हलचल मच्चाएको हो ।

तर, सहरी विकास मन्त्रालयले ल्याएको बजेटमा भने रामेछापमा ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको स्पष्ट पारेको छ । तीन करोड वा माथि बजेट भएका कार्यक्रम संख्या ११ छ भने तीन करोड बजेट भएका कार्यक्रम संख्या आठवटा रहेको उल्लेख गरेको छ। तीन करोड बजेटभन्दा कम बजेट भएका कार्यक्रम संख्या ५५ वटा छन्। सहरी विकास मन्त्रालयको बजेटको ०.७ प्रतिशत बजेट रामेछापमा परेको छ।

सांसद तामाङले प्रकाशमानमाथि आक्रोश पोखे पनि कारण भने फरक रहेको स्रोतको दाबी छ। तामाङको निर्माण कम्पनीले सहरी विकास मन्त्रालयअन्तर्गतको ७० करोडको ठेक्का परे पनि पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का तोडिएको र त्यसकै रिस संसदमा पोखेको बताइन्छ ।

सिंहको निजी सचिवालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत मोरङ जिल्लाको दुईवटा सडक खण्ड, खोर्साने केराबारी सिंहदेबी सडक र लक्ष्मी मार्ग डाँगीहाट बबिया बिर्ता अमाही सडक निर्माणको ठेक्का २०८० असार मसान्तबाट म्याद थप हुन सकेको थिएन। पटकपटकको ताकेतापश्चात् पनि कार्य प्रगति नभएकाले ठेक्का तोड्नुपरेको मन्त्रालयले जनाएको छ।

तर तामाङले पटकपटक सो ठेक्काको म्याद थप गर्न उपप्रधानमन्त्री सिंहसँग ताकेता गरे पनि कानुन र नियमविपरीत ठेक्काको म्याद थप्न उनी तयार भएनन्। जिल्लामा सहरी विकास मन्त्रालयबाट सन्तोषजनक बजेट गएपछि तामाङको आक्रोशको कारण भने नियमविपरीत ठेक्काको म्याद नथपिनु रहेको स्रोतको दाबी छ। कान्छाराम कन्स्ट्रक्सन हाल कालोसूचीमा परेको छ। २०८१ कात्तिक २३ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचनामा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको उल्लेख छ।