भोलि बजेट पास गर्न एमालेले लगायो सांसदहरूलाई ह्विप


काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने भएको छ । सोमबार १९ वटै मन्त्रालयमाथि सांसदहरूले सोधेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने तयारी छ । आज जवाफ दिन नसके मंगलबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिने भएको छ ।

सरकारको नेतृत्वकर्ता दल एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । प्रतिनिधिसभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची भएकाले एमाले संसदीय दलले सोमबार नै ह्विपको सूचना जारी गरेको हो ।

सरकारले रास्वपा र राप्रपा सांसदहरूको विरोधका बाबजुद पनि बजेटमाथि छलफल कार्यक्रम चलाएर बजेट पारित गर्ने तयारी गरेको हो । बजेट पारित भएमा प्रधानमन्त्री केपी ओली सरकारले वैधानिकता पाउने छ । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै सदनको कामकारबाहीमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले पेलेरै संसद् चलाएका छन् ।