काठमाडौं । कतार स्थित अमेरिकी एयर बेसमा इरानले मिसाइल आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली त्रासमा बस्न बाध्य भएका छन् ।
मिसाइल प्रहारपछि नेपालीहरुले सामाजिक सञ्जालमार्फत निकै त्रासको अवस्था रहेको सन्देश प्रवाह गरेका छन् । कतारमा करिब ४ लाख नेपाली कार्यरत छन् ।
यसैबीच कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो ।
जारी सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ । ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।
जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण गरेपछि इरानले जवाफी हमला थालेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुर प्रभावित हुनेछन् ।
प्रतिक्रिया