सकियो सत्तारुढ दलको बैठक, बजेट पारित गर्ने निर्णय


काठमाडौं – सत्तारुढ दलले बजेट पारित गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बसेको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विषयमा प्रमुुख दल एमाले र कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर ‘टेक एन्ड पे’ हटाए मात्र बजेट पास गर्ने बताएका थिए । त्यसपछि संसदको अर्को बैठकमा अर्थमन्त्री पौडेलले संशोधन राख्ने सहमति भएको छ ।