काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेसम्म पनि आफू प्रयासरत रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले गरेको प्रयास रास्वपाका नेताहरुले एक दिन बुझ्ने बताए ।
भिजिट भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘यसमा म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति मैले अन्तिम समयसम्म प्रयास गरेको । अझै गर्दैछु । रास्वपाका साथीहरुले एक दिन सबै कुरा बुझ्नुहुन्छ,’ उनले भने ।
भिजिट भिसा प्रकरण छानविनका लागि प्रमुख प्रतिपक्षी दल माओवादी र सत्तारुढ दलबीच भएको सहमतिअनुसार पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले छानबिन समितिको स्वागत गरेको छ । तर रास्वपाले माओवादीको फेस सेभिङ गर्न र भिजिट भिसा प्रकरणमा फासफुस पार्न समिति बनेको आरोप लगाएको छ ।
प्रचण्ड पहिल्यैदेखि रवि लामिछानेको पक्षमा उभिँदै आएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा रवि उपप्रधान तथा गृहमन्त्री थिए । सहकारी ठगी प्रकरणमा रवि निर्दोष रहेको भन्दै प्रचण्डले बचाउ गर्दै आएका थिए । उनी अहिलेसम्म पनि त्यसमा अडिग छन् । तर रास्वपाले भिजिट भिसा प्रकरणमा माओवादीले सत्तापक्षसँग बार्गेनिङ गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया