काठमाडौं – किशोरी बलात्कार आरोपमा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) का नेता रेशम क्षेत्री पक्राउ परेका छन् । वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य रेशमलाई बिहीबार राति रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रेशमले ललाई फकाई जाजरकोटकी एक १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको होटेलमा लगेर बलात्कार गरेका थिए । पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ । बच्चा क्षेत्रीकै रहेको किशोरीको दावी छ ।
बलात्कारपछि पेटमा रहेको बच्चाको गर्भपतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन् । छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु,पाल्छु, मुद्दा मामिला नगर भन्दै रोेकेका थिए । पीडितका अनुसार उनले माओवादी उच्च नेतासँग आफ्नो पहुँच रहेको,आफू उम्किन सक्ने भन्दै किशोरीलाई मुद्दा हाल्नबाट रोकेका थिए ।
पछिल्लो समय क्षेत्रीले बेवास्ता गर्न थालेपछि दुई महिनाअघि किशोरीले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिएकी थिइन् । त्यसपछि प्रहरीले मुद्दा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिई रेशमको खोजी गरेको थियो । जसअनुसार उनलाई बिहीबार राति पक्राउ गरिएको हो । उनी वाइसिएलको चौरजहारी नगर कमिटी इन्चार्ज पनि हुन् ।
प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान जारी राखेको र अनुसन्धानपछि कानूनअनुसार कारबाही हुने जनाएको छ ।
प्रतिक्रिया