काठमाडौं । “मदनजीको जिप दुर्घटनाबारे बोल्न चाहँदा म अत्यन्तै भावुक हुन्छु… पार्टीका नेता-कार्यकर्तासँगको भेटघाट तीव्र बनाउँदै हुनुहुन्थ्यो। तर, २०५० साल जेठ ३ गते, त्यो एक कहालीलाग्दो दिन थियो -जिप दुर्घटनामा परेर उहाँले आफ्नो जीवन गुमाउनुभयो। त्यो क्षणले मेरो जीवनको दिशानै परिवर्तन गरिदियो।
त्यो बेला दुःख र पीडाले घेरिएको थिएँ। तर, त्यही पीडाभित्रबाट मदन भण्डारी फाउन्डेशन सुरु गर्नुपर्यो। पार्टी र म मात्र होइन, सिङ्गो राष्ट्र नै शोकमा डुबेको थियो। त्यसै अवस्थामै पार्टीले मलाई काठमाडौंको उपनिर्वाचनमा प्रतिद्वन्द्वी बनायो। त्यस दिन मैले महसुस गरेँ- मेरो पहिलो जन्म आमाबुबाले दिनुभयो, र दोस्रो जन्म काठमाडौंका जनताले। त्यो माया, त्यो विश्वास, त्यो भरोसा… त्यसले मलाई जितायो।
मैले त्यसै दिनदेखि प्रण गरेकी थिएँ – अब म जनताको छोरी, राष्ट्रकी सेवक बन्नेछु। मेरा व्यक्तिगत चाहना केही छैन। मेरो ध्येय र लक्ष्य एउटै हो -देश र जनताको हित। जननेता मदन भण्डारी भन्नुहुन्थ्यो – ‘जनता भनेका भगवान हुन्।’ ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन।’ आज यहाँ तपाईंहरू माझ बसेर उहाँका ती अमूल्य वचनहरू फेरि सम्झिँदैछु।
यी शब्दहरू मेरा जीवनका आदर्श हुन्। मैले यी वचनहरूलाई आत्मसात गरेकी छु। र, आज फेरि पार्टी सदस्यता नवीकरण गर्दै म गौरवका साथ भन्छु – अब म नेकपा (एमाले) परिवारको जिम्मेवार सदस्यको रूपमा पुनः जोडिएकी छु। राजनीतिक यात्रामा आउने उतारचढावहरूले मलाई परिपक्व बनाएका छन्। विगतले मलाई धेरै सिकाएको छ। र, म बुझेकी छु -यो देश, यी जनता, र उहाँ (मदन) को सपना पुरा गर्नु नै मेरो जीवनको सार हो।” (भण्डारीले शनिबार मदन जयन्तीमा गरेकाे सम्बाेधनकाे सारसंक्षेप)
प्रतिक्रिया