विद्यादेवी भण्डारीमा पहिलो महिला प्रधानमन्त्री बन्ने लोभ


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि एमाले नेतृ बनेकी छन् । दुईपटक राष्ट्रपति निर्वाचित भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्य राखेको घोषणा गरेकी छन् ।
२०७२ मा पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी एमाले उपाध्यक्ष थिइन् । पुनः एमालेमा फर्किएकी उनमा नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने लालसा पलाएको चर्चा परिचर्चा हुन थालेको छ । उनले बनाएको राजनीतिक रोडम्यापअनुसार ०८४ को निर्वाचनमा कम्युनिस्ट शक्तिको बहुमत ल्याएर प्रधानमन्त्री बन्ने छ । यसबीचमा उनले सम्हालेका जिम्मेवारी, हासिल गरेका अनुभव र अहिले जागेको महत्त्वाकांक्षाले उनी एमालेको आमकार्यकर्ताकै भूमिकामा सीमित बन्नेछिन् भनेर पत्याउन कठिन छ ।

गणतन्त्रमा राष्ट्रपति सबैभन्दा माथिल्लो ओहोदा हो । संविधानले नै यो पदलाई नेपालको राष्ट्राध्यक्षका रूपमा प्रस्तुत गरेको छ । त्यसैले यो पदमा रहिरहेका वा रहिसकेका जोकोही सम्मान र गरिमाका लायक हुन्छन् । उनीहरूले खास राजनीतिक पार्टी र आस्थाभन्दा माथि रहेर सार्वजनिक हित, पर्यावरण, हिमाल, महिला, बालबालिका, शिक्षा, स्वास्थ्यजस्ता विवादरहित क्षेत्रका पक्षमा आफ्नो अनुभव, बौद्धिकता, प्रतिष्ठा उपयोग गर्ने अपेक्षा गरिन्छ ।

पूर्वराष्ट्रपति रामवरण यादवले चुरेक्षेत्रको संरक्षणका लागि बोल्दै आएका छन्, जुन अपेक्षाअनुसार नै हो । भण्डारीबाट पनि यस्तै अर्को कुनै अभियानको अपेक्षा थियो । तर उनले भने दैनन्दिन आलोचना, कटाक्ष, गालीगलौज सामान्य ठानिने सक्रिय राजनीतिको बाटो रोजेकी छन् । यद्यपि यो अकस्मात् रोजिएको बाटो होइन । पदबाट बाहिरिएको केही समयपछि नै एमाले कार्यकर्तालाई भेट्ने, एमाले कार्यकर्ता उपस्थित हुने कार्यक्रममा पुग्नेजस्ता काम गरेर आफ्नो पक्षमा माहोल बनाइरहिन् । एमालेको आन्तरिक राजनीतिमा नयाँपन खोजिरहेकाहरूले उनलाई हौसला दिँदै गए । अन्ततः भण्डारीले औपचारिक घोषणा नै गर्न पुगिन् ।

पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्किन हुँदैन भनेर संवैधानिक तथा कानुनी अड्चन छैन । यो मूलतः नैतिक प्रश्न हो । यो परम्परा स्थापित गर्ने सवाल हो । त्यसैले भण्डारीले नैतिकता देखाऊन् र असल परम्पराको सारथि बनून् भनेर नागरिक समाजले पार्टी राजनीतिमा नफर्किने आशय राख्दै, बोल्दै र लेख्दै आएका थिए । भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय भएको बताएकी छन् । यस अभिव्यक्तिमा एमालेको सामान्य कार्यकर्ताका रूपमा भूमिका निर्वाह गर्ने होइन, कार्यकारी अधिकारको प्रयोग गर्ने चाहना प्रतिबिम्बित हुन् ।

उसै पनि कार्यकर्ताका रूपमा बस्नका लागि भण्डारीले नैतिक प्रश्न र सम्मानित व्यक्तित्वलाई दाउमा राख्नै पर्दैनथ्यो । तर एमालेमा आफ्ना पक्षमा प्रशस्तै माहोल बनाएको वा बन्ने निश्चित भएपछि भण्डारीले पुनरागमन गरेकी हुन् । त्यसैले उनी एमाले अध्यक्ष पनि बन्न सक्छिन् । एमालेजस्तो बलियो पार्टीको अध्यक्ष बन्न सकिन् भने उनी प्रधानमन्त्री पनि बन्ने सम्भावना बढ्नेछ । त्यस्तो स्थितिमा उनी पहिलो महिला राष्ट्रपति र प्रधानमन्त्री बन्न सफल हुनेछिन् ।