प्रसिद्ध जैसी चम्केपछि नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य


काठमाडौं – ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतकको मद्दतले नेपालले इन्डोनेसियाविरुद्ध ४२१ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध विशाल योगफल खडा गरेको हो ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ४२० रन बनाएको छ । नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो ।

जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए । अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।

पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे । इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १(१ विकेट लिए । हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ ।