काठमाडौं । कुलिङ पिरियड दुई वर्ष राख्दै प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधानको मर्मअनुसार आएको बताउँदै नौ दश वर्षदेखि अलपत्र रहेको विधेयक पारित भएकोमा खुसी व्यक्त गरे । विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै उनले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए । सांसदहरुले विधेयकको स्वागत गर्दै कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
विधेयक पारित भएसँगै निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ । सम्बन्धित प्रदेशको सहमतिमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्देश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकूल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् ।
विधेयकले महिनैपिच्छे कर्मचारीको सरुवा हुने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीमा सरुवाको व्यवस्था मिलाएको छ । विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड दुई वर्ष हुने व्यवस्था पनि गरेको छ ।
दुई वर्षे कुलिङ पिरियड हटाउन मुख्यसचिव एकनारायण अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहित दर्जनौं सचिवहरूले प्रधानमन्त्री केपी ओलीदेखि विभिन्न दलका शीर्ष नेतालाई दबाब दिएका थिए । केही समय प्रधानमन्त्री ओलीले पनि विधेयक होल्ड गरे । तर चौतर्फी विरोध भएपछि आइतबारको संसद् बैठकले बहुमतले पारित गरेको छ ।
प्रतिक्रिया