काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा प्रधानमन्त्री पेतोङतार्न शिनावात्राको राजीनामाको माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। कम्बोडियाका पूर्वनेता हुन सेनसँग सिनावात्राको टेलिफोन कुराकानीको अडियो लिक भएपछि उनको राजीनामा माग गर्दै प्रदर्शन भएको हो।
टेलिफोन कुराकानीले थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवादलाई लिएर तनाव बढाएको छ, जसले पेतोङतार्नको नेतृत्वमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ। जुन १५ मा भएको १७ मिनेट लामो उक्त कुराकानीमा पेतोङतार्नले हुन सेनलाई काका सम्बोधन गर्दै थाइ सेनाको एक वरिष्ठ कमान्डरलाई विरोधीको रूपमा उल्लेख गरेकी थिइन्।
सिनावात्राले हुन सेनलाई सीमा विवादमा थाइ सेनाका एक जर्नेलको कुरा नसुन्न आग्रह गर्दै आफूले हुन सेनको कुनै पनि अनुरोध मिलाइदिने वचन दिएकी थिइन्। यो अडियो हुन सेनले ८० जना राजनीतिज्ञहरूसँग साझा गरेपछि लिक भएको थियो र पछि उनले पूरा कुराकानी आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका थिए ।
यो कुराकानी लिकले थाइल्यान्डमा ठुलो राजनीतिक हलचल ल्याएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीमाथि कम्बोडियासँग झुकेको र थाइ सेनालाई अपमान गरेको आरोप लगाएका छन्। मे २८ मा सीमा क्षेत्रमा भएको सानो झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि दुई देशबिच तनाव चुलिएको थियो।
यो घटनाले दशकयताकै खराब थाइ कम्बोडिया सम्बन्धलाई झनै बिगारेको छ। यो विवादले थाइल्यान्डको आर्थिक सुधारलाई समेत प्रभावित गर्न सक्ने चिन्ता बढाएको छ। पेतोङतार्नले प्रदर्शनलाई शान्तिपूर्ण रूपमा लिन र वार्ताका लागि तयार रहेको बताएकी छन्। तर, यो घटनाले थाइल्यान्डको राजनीतिक अस्थिरताको गहिरो जरा र शिनावात्रा परिवारमाथिको लामो समयदेखिको विवादलाई पुनः उजागर गरेको छ।
प्रतिक्रिया