काठमाडौं । भिजिट भिसामा चौतर्फी घेराबन्दीमा परेका गृहमन्त्री रमेश लेखक एमालेसँगको गठबन्धन टुटाउन नहुने पक्षमा देखिएका छन् । रास्वपा, राप्रपाले मन्त्री लेखकले निरन्तर राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध र नाराबाजी गर्दा पनि प्रधानमन्त्री केपी ओली गृहमन्त्रीकै पक्षमा देखिएका छन् । त्यसले गर्दा पनि लेखक एमालेसँगको गठबन्धन तोड्न नहुने पक्षमा देखिएका छन् ।
मंगलबारको कांग्रेस केन्द्रीय समिति बैठकमा लेखकले गठबन्धन तोड्न नहुने प्रस्ट भनाइ राखे । सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै कतिपय केन्द्रीय सदस्यले असन्तुष्टि पोखेपछि जवाफ दिँदै लेखकले अहिलेको गठबन्धनको विकल्प खोज्नु उपयुक्त नहुने धारणा राखेका थिए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौँ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन ।’
गृहमन्त्री लेखकको भनाइसँग प्रचार विभाग प्रमुख मिन विश्वकर्मा पनि सहमत देखिए । उनले सरकारको कामबारे असन्तुष्टि व्यक्त भए पनि आलोपालोबाटै केही समयभित्र कांग्रेसले नेतृत्व पाउन लागेका वेला अर्कैतिर गठबन्धन गर्ने दिशामा लाग्नु मुलुक र कांग्रेस दुवैका लागि घातक हुने बताएका थिए । अधिकांश नेताहरूले यस्तै धारणा राखेको उनले बताए ।
‘सांसदहरूले पनि सरकारविरुद्ध जथाभावी बोल्ने काम बन्द गर्नुपर्छ, संसदीय दलको ह्विप र नीतिबाहिर गएर बोल्न पाइँदैन, अबदेखि लगाम लगाउनुपर्छ भन्ने धेरैको धारणा आएको छ,’ उनले भने, ‘कांग्रेसले पहिला आफूलाई सुधार गरे मात्र सरकारले पनि ठिक ढंगले काम गर्न सक्छ भन्ने नै बैठकको साझा निष्कर्ष हो ।’
प्रतिक्रिया