काठमाडौं । रुपन्देही ३ मा उपनिर्वाचनको सरगर्मी सुरु भएसँगै भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने चर्चा सुरु भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा उच्च अदालत बुटवलले रविलाई पुर्पक्षमै राख्न आदेश सुनाएपछि उनी चैत २२ गतेदेखि भैरहवा कारागारमा छन् ।
रविले भैरहवा कारागारबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवाका लागि केन्द्रीय कारागार कार्यालयलाई एक महिनाअघि नै पत्र पठाएका थिए । तर अहिलेसम्म पत्र अघि बढ्न सकेको छैन । तर निर्वाचन आयोगले रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेसँगै त्यहाँ चुनावी सरगर्मी बढ्न थालिसकेको छ । भैरहवा कारागारमै रहँदा रविले निर्वाचनलाई प्रभाव पार्न सक्ने आंकलन गर्दै उनलाई काठमाडौं सरुवा गरेर ल्याउने तयारीमा गृह प्रशासन लागेको स्रोतको भनाइ छ ।
‘यदि रास्वपाले भिजिट भिसा प्रकरणमा सदन अवरोध र नाराबाजी नगरेको भए एक महिनाअघि नै रवि काठमाडौं आइसकेका हुन्थे । तर रास्वपाले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अडान राखिरह्यो । त्यही भएर उनको भैरहवाबाट काठमाडौं सरुवाको पत्र अलपत्र परेको हो,’ रवि निकट एक नेताले भने ।
बुटवलमा रास्वपाको प्रभाव बलियो रहेको पुष्टि २०७९ मंसिर ४ गतेको निर्वाचनले गरिसकेको छ । त्यसबेला रुपन्देही ३ मा एमालेको सहयोगमा राप्रपाका दीपक बोहोराले चुनाव जितेका थिए । उनले कांग्रेसका उम्मेदवार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । तर समानुपातिक मतमा भने कांग्रेस नै अगाडि छ । कांग्रेसले त्यसबेला रुपन्देही ३ मा २० हजार मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले १६ हजार र तेस्रो स्थानमा रहेको रास्वपाले १४ हजार समानुपातिक मत पाएको थियो । त्यसैले गर्दा पनि रविलाई भैरहवाबाट काठमाडौं सार्ने विषयमा गृहकार्य अघि बढाइएको हो ।
कात्तिक १७ गते हुने उपनिर्वाचनमा अहिलेसम्म कुनै पनि दलले आधिकारिक उम्मेदवार घोषणा गरिसकेका छैनन् । एमालेले खिमलाल भट्टराईलाई अघि सार्ने सम्भावना छ । कांग्रेसबाट फेरि पनि बालकृष्ण खाँणलाई नै उम्मेदवार बनाउने चर्चा चलेको छ । खाँण अहिले निर्वाचन क्षेत्रमै खटिएका छन् । तर नक्कली भुटानी शरणार्थी प्रकरणले उनी विवादास्पद छन् । अदालतमा मुद्दा खेपिरहेकाले उनले निर्वाचन लड्न पाउने नपाउने भन्ने यकिन छैन । सर्वोच्च अदालतले एक साताभित्रै भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाबारे फैसला सुनाउने अन्तिम तयारी गरेको छ ।
रुपन्देही ३ मा रास्वपाबाट सागर ढकालको चर्चा छ । उनले टिकट पाउन अहिले रास्वपाका नेताहरूसँग भेटघाट बाक्लो पारेका छन् । उनी गत निर्वाचनमा डडेल्धुराबाट उठेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित बने । रास्वपाबाट सशक्त उम्मेदवार नभएपछि ढकाललाई नै उठाउने विषयमा नेताहरू सकारात्मक भएको बुझिएको छ ।
प्रतिक्रिया