मलेसियालाई हराउँदै नेपाल फाइनलमा


काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा बिहीबार आयोजक मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाली टोलीले हङकङ र सिंगापुरबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल पनि बिहीबार नै खेलिने छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुनुअघि ९० रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११।४ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।
नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा भने इन्डोनेसियामाथि तीन सय ७० रनको कीर्तिमानी जित हासिल गरेको थियो ।
नेपाली टोलीले समूहगत चरणको चौथो तथा अन्तिम खेलमा भुटानमाथि दुई सय ९८ रनको सजिलो जित हासिल गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।