रामकुमारीको पत्रले एकीकृत समाजवादीमा अर्को बबन्डर निम्तिने


काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नाविरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनीसहित पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेपछि बैठक स्थगित भएको हो । महासचिव घनश्याम भुसालले स्वास्थ्यको कारण देखाउँदै बैठक चार दिनपछि सारेका छन् ।

आफूविरुद्ध नेताहरूले गरेको हिंसाको बारेमा झाँक्रीले सचिवालयको बैठकमा जवाफ दिने बताएपछि बैठक बस्न सकेन । उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको थियो । तर झाँक्रीले यसबारेमा आफूलाई अहिलेसम्म कुनै जानकारी नै नभएको बताएकी छन् ।

पार्टीको तहको बैठकमा नै यो विषय कुरा राख्ने छु भनेर पनि चुप बसेको भए पनि जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर बोलिरहनु भन्दै पत्रमा गुनासो गरेकी छन् । आफूविरुद्ध पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै।

राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु।’ तर बैठक नै स्थगित भएपछि उनले अध्यक्ष नेपाललाई पत्र लेखेकी हुन् । ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ। यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ।

सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न। कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ। तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन,’ उनले पत्रमा भनेकी छन् ।

एकीकृत समाजवादीले भने माधव नेपाल लक्षित अभिव्यक्ति दिएको आरोपमा रामकुमारीलाई पार्टीबाटै निष्कासनसम्मको तयारी गरेको थियो । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले त्यस्तो चेतावनी दिएका हुन् । तर रामकुमारीको पत्रले पार्टीका धेरै नेतामाथि नैतिक संकट उत्पन्न भएको छ ।