काठमाडौं । नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेश सरकारबाट बाहिरिने भएको छ । नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले संघ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरेका छन् । बिहीबार राति श्रेष्ठ र चौधरीले अब आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा संघ र प्रदेश सरकारबाट बाहिरिन लागेको हो । सोहीअनुसार शुक्रबार नाउपा दलको आकस्मिक बैठक बस्दैछ । बैठकले सरकारबारे निर्णय गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
‘मुख्यमन्त्रीज्यूले मन्त्रीज्यूलाई हटाएपछि बैठक आह्वान गर्न लागेका हौँ । सरकारबारे बैठकमा निर्णय हुन्छ,’ उनले भने । पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन । नेता चौधरीले केन्द्रको निर्देशनअनुसार निर्णय गर्ने बताए । उनले भने, ‘सरकारबाट फिर्ता हुने तयारी भइरहेको छ तर, केन्द्रको पत्र आएको छैन ।
उक्त पत्र आएपछि हामी समर्थन फिर्ता लिन्छौँ र प्रतिपक्षमा बस्छौँ ।’ सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा भने पर्ने अवस्था छैन । मुख्यमन्त्री शाहलाई समर्थन गर्दा नाउपाको हस्ताक्षर नभएको हुँदा नाउपा सरकारबाट फिर्ता हुने अवस्थामा मुख्यमन्त्री शाहले विश्वासको मत लिनु नपर्ने देखिएको छ ।
प्रतिक्रिया