काठमाडौं । श्रमदान गर्न आमासँग पुगेकी १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।
पीडितका परिवारले राईविरुद्ध किटानी जाहेरी दिएपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान–१६ स्थित धरान बहुभाषिक पाठशाला निर्माणको बेला श्रमदान गर्न आएका राईले बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोप छ ।
प्रहरीका अनुसार पक्राउ परेका राई श्रमदातालाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ । पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ । तर मेयर साम्पाङले दुई महिनाअघि नै भएको घटनाबारे आफूलाई किन जानकारी दिइएन भन्दै आपत्ति जनाएका छन् । मेयर साम्पाङले भने यो दुई महिना पुरानो घटना अहिले ल्याएर श्रमदानलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।
प्रतिक्रिया