काठमाडौं – एमाले महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको बहस गर्न रोक लगाएका छन् । केही दिनअघि पार्टी मुख्यालयमा आयोजित भेलामा उनले एमालेका विभिन्न भ्रातृसंगठन र नेताहरूलाई सम्बोधन गर्दै महाधिवेशन आउन धेरै समय बाँकी रहेको भन्दै नयाँ नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका हुन् । उनले तल्ला तहमा सर्कुलर नै जारी गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः एमालेको राजनीतिमा सक्रिय हुने घोषणा र राज्यले दिने विभिन्न सेवासुविधा त्याग गरेसँगै पोखरेलले पार्टीमा नेतृत्वको बहस नगर्न निर्देशन दिएका हुन् । एमालेको एउटा पक्ष भण्डारीलाई अहिलेका अध्यक्ष केपी ओलीको विकल्पमा देख्न चाहन्छ । तर ओलीले अझै अर्को कार्यकाल पनि एमालेको अध्यक्ष बन्ने चाहना राखेकाले अहिले पार्टीमा भित्रभित्रै समीकरण फेरबदल हुँदै गएको छ ।
पार्टीका नेताहरूलाई पूर्वराष्ट्रपति भण्डारीबारे बोल्न कडाइ गरिए पनि एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् । जनकपुरधाममा आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिले अध्यक्ष ओलीकै निर्देशनमा एमाले चल्ने भन्दै भण्डारी आउँदा ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरे । ‘पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी ओलीज्यूको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन,’ उनले भने ।
भण्डारीले सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा आउँछुमात्र भनेको भन्दै उनले ओली–विद्याबीच कित्ताकाटको हल्ला र समाचार फिँजाइएको उनले टिप्पणी गरे । संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा कुनै बन्देज नगरेको साथै सचिवालयमा पनि छलफल भएको भन्दै उनले भने, ‘उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक दुईजना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् । त्यो राम्रो हैन,’ उनले भने ।
महासेठको अभिव्यक्तिले अहिले एमालेमा तरंग सिर्जना भएको छ । पछिल्लो समय महासेठ भण्डारी निकट बन्दै गएको एमालेमा चर्चा छ ।
प्रतिक्रिया