विद्यादेवी र बालेनबीचको भेटले एमालेमा सनसनी


काठमाडौं – दलका नेताहरूसँग खासै भेटघाट गर्न नरुचाउने काठमाडौंका मेयर बालेन्द्र साह बालेन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुराकानी भएको छ । पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि भण्डारीले राजनीतिक भेटघाटले तीव्रता दिएकी हुन् । यसैक्रममा बिहीबार दिउँसो भण्डारी र बालेनबीच भंगालमा एक घन्टा कुराकानी भएको हो ।

काठमाडौं ९ बाट निर्वाचित एमाले सांसद कृष्णगोपाल श्रेष्ठबालेनलाई लिएर पूर्वराष्ट्रपति निजी निवास भंगाल पुगेको स्रोतले बतायो ।

बालेन पुग्नुअघि पूर्वराष्ट्रपति निवासमा कोशी प्रदेशका पूर्वमूख्यमन्त्री शेरधन राईलगायत रहेको बताइन्छ । भण्डारी केही पारिवारिक भेटघाटमा रहेका बेला सांसद श्रेष्ठले समय लिएर बालेनलाई भेटघाट गराएका थिए।

पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवासुविधा फिर्ता गरेकी थिइन्। बालेनले भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको छ। उनीहरूबिच राजनीतिक र काठमाडौं महानगरपालिकामा देखिएको समस्याको विषयमा पनि कुराकानी भएको बुझिएको छ । सोही दिन माओवादीका केही उच्च नेताहरुले पनि भण्डारीसँग भेटघाट गरेका थिए।

भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएपछि एमालेभित्र अब दुईलाइन संघर्ष हुने आंकलन गरिएको छ। पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक भेटघाटलाई सहज बनाउँदै लगेपछि एमालेमा छटपटी बढेको छ ।