ओस्लो नर्वेमा रबि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा २ हप्ते हस्ताक्षर अभियान सुरु


ओस्लो, नर्वे l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गर्दै गरिएको राजनीतिक प्रतिशोधको विरोधमा ओस्लो, नर्वेमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।

उक्त शान्तिपूर्ण अभियान प्रवासी नेपाली सम्पर्क विभाग – नर्वे (हाल गठन प्रक्रियामा रहेको इकाई) को आयोजनामा सुरु गरिएको हो, जसको उद्देश्य विदेशमा रहेका सचेत नेपालीहरूलाई स्वदेशमा भइरहेका राजनीतिक अन्यायविरुद्ध सचेत र सक्रिय बनाउनु हो।

हस्ताक्षर अभियानको औपचारिक उद्घाटन ओस्लो निवासी वरिष्ठ अग्रज टिका आचार्यले आफ्नै हस्ताक्षरबाट गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै उहाँले भन्नुभयो,

“यो अभियान कुनै दलको पक्षपात होइन, तर लोकतन्त्र र न्यायको रक्षाका लागि प्रवासी नेपालीहरूको स्वतन्त्र आवाज हो। हामी जहाँ भए पनि अन्यायविरुद्ध बोल्नुपर्छ।”

कार्यक्रमका संयोजक सरोज थापा र शंकर काफ्लेका अनुसार यो अभियान आगामी दुई हप्ता ओस्लो र वरपरका नेपाली समुदायबीच सञ्चालन गरिनेछ। यस क्रममा व्यापक छलफल, बहस र नागरिक सचेतनालाई प्राथमिकता दिइने बताइएको छ।

रास्वपाले विगतमा पुराना राजनीतिक प्रवृत्तिबाट वाक्क भएका जनतालाई वैकल्पिक नेतृत्वको आशा दिएको दाबी गरिएको छ। भाषणभन्दा काममा विश्वास गर्ने पार्टीको रूपमा परिचित रास्वपाको नेतृत्वमा रहेका रवि लामिछानेमाथिको राजनीतिक हस्तक्षेपले देश र प्रवास दुवैतर्फ चिन्ता उत्पन्न गरेको प्रवासीहरूको बुझाइ छ।

कार्यक्रममा ओस्लो र आसपासका स्थानबाट उल्लेखनीय संख्यामा नेपालीहरू सहभागी भएका थिए।

सहभागीहरूले हस्ताक्षर गर्नुका साथै छलफलमार्फत विचार आदानप्रदान गरे। अभियानकै क्रममा प्रवासी नेपाली सम्पर्क विभाग – नर्वे को औपचारिक संरचना निर्माण प्रक्रिया पनि अगाडि बढाइएको छ। समाजसेवी, युवापुस्ता र महिला सहभागिताले कार्यक्रमलाई विविधता र गहिराइ दिएको देखिएको छ।

कार्यक्रमका उद्घाटक टिका आचार्यले निष्कर्षमा सबै प्रवासी नेपालीहरूलाई पार्टीभन्दा माथि उठेर अन्यायविरुद्ध उभिन अपिल गर्दै भन्नुभयो,

“आज रवि लामिछाने होलान्, भोलि अरू पनि यस्तै अन्यायको शिकार बन्न सक्छन्। त्यसैले स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।”