भिजिट भिसाको रिस रवि लामिछानेमाथि


काठमाडौं – भिजिट भिसा प्रकरणमा रास्वपाले आफ्नो राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरिरहेपछि गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेमाथि नै झटारो हानेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रसुवा बाढीबारे जानकारी दिन रोस्ट्रममा उभिएका लेखकले रवि लामिछाने नै भिजिट भिसामा अमेरिका गएको सुनेको भन्दै स्पष्ट जानकारी दिन आग्रह गरेका छन्। उनले भिजिट भिसामा गई अमेरिकी नागरिकता लिने र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउनु कत्तिको उपयुक्त हुने भन्दै नैतिकता अरुबाट अपेक्षा गर्ने कि आफूबाट प्रारम्भ गर्ने ? भनेर प्रश्न गरेका छन् ।

लामिछाने नेतृत्वको रास्वपाका सांसदहरुले संसदमा दिएका अभिव्यक्तितर्फ संकेत गर्दै उनले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नको जवाफमा आक्रमक सुनिएका गृहमन्त्री लेखकले त्यसलाई भ्रामक प्रचार भनेका छन् ।

प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरू सरकारले निर्णयबाट लैजाने र नामहरु सार्वजनिक हुने अभ्यास सम्झाउँदै उनले यस्ता न्यूनतम जानकारी राख्न रास्वपाका सांसदहरुलाई आग्रह गरे । कल्पना र अनुमानका भरमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने गृहमन्त्रीको भनाइ छ ।

त्यसक्रममा उनले रास्वपा सभापति लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको दाबी पनि गरे । लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको गृहमन्त्री लेखकको जिकिर छ । भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता पाएको बताए । ‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, लेखकले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?’ रास्वपाले बुधबारको संसद् बैठक पनि बहिष्कार गरेको थियो ।