अर्थतन्त्रलाई उकास्ने गरी गभर्नर पौडेलले लचिलो मौद्रिक नीति ल्याए


काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । शुक्रबार गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतले निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् । अर्थतन्त्रमा देखिएको संकुचन कम गर्न गभर्नर पौडेलले मौद्रिक नीति लचिलो बनाउने गरी कर्जा विस्तारको लक्ष्य लिएका हुन्।

गत आर्थिक वर्ष १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएकोमा चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब चार खर्ब अर्थात ८ प्रतिशतमात्रै कर्जा विस्तार भएको छ।

नीतिमा निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारिएको छ । राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर पौडेलले बताए ।

मौद्रिक नीतिमा नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत पूरा गर्न विदेशी विनियम सञ्चिति पर्याप्तता ७ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेगरी कायम राख्दै मुद्रास्फीति ५ प्रतिशत राख्ने लक्ष्य रहेको उनले बताए । मौद्रिक तरलता र विदेशी विनियम नीतिलाई सोहीअनुसार व्यवस्थापन गर्ने लक्षय रहेको उनले बताए ।

सरकराले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरेको बताए ।