काठमाडौं, ७ साउन — नेपाली कांग्रेसको भित्रि सत्ता समीकरण फेरबदलको संघारमा पुगेको छ। पार्टी नेतृत्वको बागडोर परिवर्तनको बहस तीव्र बनेका बेला कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टी सभापति बन्ने चर्चामा छन् । पछिल्ला घटनाक्रमले देउवा र सिटौला समूहको रोजाइ पनि थापामै परेको चर्चा बढ्दै गएको छ।
पार्टीको नेतृत्वमा नयाँ अनुहार ल्याउने धारणा तीव्र बनेका बेला देउवा पक्ष र सिटौला पक्ष दुवैबाट गगन थापालाई सभापतिमा अघि सार्ने तयारी भइरहेको स्रोतहरू बताउँछन्। यदि देउवा पक्षले गगनलाई समर्थन गर्यो भने थापाको सम्भावना बलियो बन्नेछ। गगन उठ्दा अन्य नेताहरू व्यवस्थापन गर्न सहज हुने ठानिएको स्रोतहरूको भनाइ छ।
पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा सांसद आरजु राणा दुवै गगनप्रति सकारात्मक रहेको नजिकका नेताहरू बताउँछन्। देउवा र सिटौला दुवै समूहले गगनलाई ग्रिन सिग्नल दिएको चर्चा छ। यदि गगन थापा सभापति बने भने आरजुलाई उपसभापतिको भूमिकामा ल्याएर एकीकृत प्यानल बनाउने प्रयास भइरहेको बुझिएको छ।
गल्ती स्वीकार गर्दै गगनको आत्मालोचना
चितवनको भरतपुरमा आयोजित ४३औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले आत्मालोचना गर्दै कांग्रेसबाट भएका गल्तीहरूको जिम्मा लिने घोषणा गरे।
“हामी सबैबाट गल्ती भयो,” उनले भने, “सबैभन्दा ठूलो गल्ती भनेको कांग्रेसको मतदातालाई अर्को पार्टीको चिन्हमा मत हाल्न लगाउनु हो। म त्यो गल्ती स्वीकार गर्छु र नागरिकसँग माफी माग्छु।”
उनले नेपाली कांग्रेस नेपाली जनतासँग जोडिएको भावनात्मक पार्टी भएको बताउँदै आगामी दिनमा जनतालाई फेरि विश्वास दिलाउने प्रयास गरिने प्रतिबद्धता जनाए।
सशक्त संगठन र पुनः जागरण अभियानको घोषणा
महामन्त्री थापाले चितवनमा कार्यकर्तालाई सम्बोधन गर्दै संगठन निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले भने,
“पदभन्दा ठूलो कुरा विचार र पार्टीप्रतिको निष्ठा हो। अब म नागरिकसँग सघन संवादमा उत्रनेछु। एक वर्षभित्र कांग्रेसभित्र पुनः जागरण अभियान सुरु गर्ने लक्ष्य लिएको छु।”
उनले अहिलेको जनअसन्तुष्टि कांग्रेसले सम्बोधन गर्न नसकेको स्वीकार गरे।
“नागरिकमा अहिले तीव्र असन्तुष्टि छ, आगो बलिरहेको छ। हामी त्यो आगो निभाउने जिम्मा लिन तयार छौं,” थापाको भनाइ थियो।
महाधिवेशन समयमा हुने दाबी, क्रियाशील सदस्यता टुंग्याउने प्रतिबद्धता
“२०८२ सालको उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन — जान दिइन्न,” उनले स्पष्ट शब्दमा भने।
“क्रियाशील सदस्यता टुंग्याउने म संयोजक हुँ, समयमै टुंग्याउँछु,” उनले बताए।
उनले महाधिवेशनपछि सबै तहमा सम्मेलन गरेर उम्मेदवार छनोटको अधिकार तल्लो तहमै दिने पक्षमा आफू रहेको धारणा पनि राखे।
पार्टीभित्रबाटै समर्थनको संकेत
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जाल र कन्टेन्टमार्फत जनमत निर्माण गर्नुपर्ने बताए।
“समय परिवर्तनशील छ, अब विचार र दृष्टिकोण जनतामा पुर्याउन सकिएन भने कांग्रेस कमजोर हुन्छ,” श्रेष्ठले भने।
उनले पार्टीभित्र भातृ संगठनहरूको चुनाव आवश्यक रहेको भन्दै पार्टीमा उत्साह फर्काउन ती संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
त्यस्तै चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले गगन थापाको नेतृत्व क्षमताबारे खुलेर बोले।
“गगन थापाले चाहे मन्त्री हुँदा होस् वा पार्टी भित्र, जुन काम गर्नुभयो, त्यसले उहाँ नेतृत्वका लागि योग्य हुनुहुन्छ भन्ने सन्देश दिन्छ,” उनले भने, “गगनको नेतृत्वमा गर्विलो कांग्रेस बन्नेछ भन्ने विश्वास लिएको छु।”














प्रतिक्रिया