जेनजी आन्दोलनले ध्वस्त सेयर बजार, धेरैपछि ‘मार्केट हल्ट’


काठमाडौं । जेनजी आन्दोलनले स्थगित रहेर बिहीबार खुलेको सेयर बजार झन्डै डेढ सय अंकले ओरालो लागेपछि कारोबार स्थगित गरिएको छ ।

कारोबार सुरु भएको केही बेरमै ४ प्रतिशतले इन्डेक्स ओरालो लागेपछि ‘मार्केट हल्ट’ गर्नुपरेको छ। सामान्यतया कुनै निश्चित समयावधिभित्र सूचकांक धेरै माथि वा तल जाँदा (जस्तै, ४ प्रतिशतभन्दा बढी उतारचढाव हुँदा) बजारलाई स्थिर पार्न नेप्सेले सर्किट ब्रेकर लगाउँछ, यसैलाई मार्केट हल्ट भनिन्छ।

नेप्से सूचक १३३ अंकले घट्दै २५३८ विन्दुमा झरेको हो। ६३ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । आजको कारोबारमा ११ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १९१ कम्पनीको मूल्य घटेको छ।

नियमअनुसार कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से इन्डेक्स ४ प्रतिशतभन्दा बढी तलमाथि हिँड्नेबित्तिकै बजार २० मिनेटका लागि रोकिन्छ। दोस्रो घण्टाभित्र ५ प्रतिशत उतार–चढाव भएमा बजार ४० मिनेटका लागि बन्द हुन्छ। त्यस्तै, दिउँसो १ बजेपछि कारोबार भइरहेको बेला इन्डेक्स ६ प्रतिशतभन्दा बढी ओरालो लागे वा उकालो लागे भने सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिन्छ। आज ४० मिनेटलाई कारोबार रोकिएको छ ।