नेपाल सरकारले ‘सामाजिक सञ्जाल सञ्जालन तथा नियमन सम्बन्धी निर्देशिका, २०८०’ जारी गर्दै सामाजिक सञ्जालहरूलाई मन्त्रालयमा दर्ता गर्न आह्वान गरेपछि दर्ता भएका पाँच सामाजिक सञ्जाल चर्चामा आए । नेपालमा सूचीकृत भएका सञ्जालमा टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ रहेका छन् । यी मध्ये वीटक (Weetok) नेपालमा दर्ता भएको सामाजिक सञ्जाल हो ।
सुन्दा टिकटक झैँ लाग्ने यो सञ्जालको सुरुआत नेपाली युवा क्षितिज दाहालले गरेका हुन् । सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरे । तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन सकेनन् । फलतः उनले सारांश मिडिया ल्याबको स्थापना गरे ।
सुरुआतमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे । उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ । एपकै शिलशिलामा क्षितिजलाई भिडिओ सेयरिङ एप बनाउनु पर्छ भन्ने लाग्यो । जहाँ उनले भिडियो हेर्ने सुविधासँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरे ।
‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन । त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ । यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने ।
उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए । त्यहि अनुरुप काम गरिरहेका थिए । तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यस प्रति चासो बढ्यो । चासोसँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । ‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ । तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ । हाम्रो एप प्लेस्टोर र एप्पलस्टोरबाट डाउनलोड गर्न सकिन्छ । हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने ।
विसं २०८१ असार ७ गते देखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका क्षितिजको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेका छन् । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर उनले आफ्नो सपनालाई मुर्तरुप दिन अहोरात्र खटिरहेका छन् । ‘हामी न्युजमा आइसकेपछि लञ्च भइहाल्या,ै त्यसैले हामीले फिचर्समा ध्यान दिईरहेका छौँ । हामीले वीटक लञ्च गरेसँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ । पछिल्लो समय प्राय देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ । हामीसँग प्रयोगकर्ता बढेसँगै हामी सेवासुविधा थप्दै जानेछौँ’, उनले भने ।
नेपालभित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्डअनुसार दर्ता हुनु पर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी र सम्पर्क व्यक्ति (एयष्लत या ऋयलतबअत) तोक्नुपर्ने भनेको छ । वीटकले यी सबै प्रावधान पूरा गरी नेपालमा कानुनी वैधता प्राप्त गरेको छ ।
वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाईजेशन’ सुविधा दिने, लालीगुराँस जस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको छ । यसले दसैँ लगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्दैछ । वीटकको प्रमोशनका लागि यी सम्पूर्ण योजना पहिले नै बनेको क्षितिजले सुनाए ।
‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ । तर, हामी प्रयोगकर्तालाई सेवासुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने ।
क्षितिजका अनुसार फेसबुक, एक्स जस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ । आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनु पर्ने उनको भनाइ छ । वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ ।














प्रतिक्रिया