दुर्गा प्रसाईले फेरि आन्दोलन गर्ने, राजसंस्था ल्याएरै छाड्ने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजसंस्था पुनः स्थापनाका लागि फेरि आन्दोलन गर्ने जानकारी दिएका छन् । तीनकुने काण्डका मुख्य अभियुक्तको आरोपमा पक्राउ परी चार महिना थुनामा बसेर अदालतको आदेशले छुटेपछि प्रसाईले अब आफू राजसंस्था पुनःस्थापनाको एजेन्डा छाडेको घोषणा गरेका थिए ।

तर भदौ २३ र २४ को जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाएर आफ्ना मान्छे घुसाएका प्रसाईले एक महिनापछि फेरि राजसंस्थाको एजेन्डा बोकेका छन् । उनले पश्चिमा शक्तिले नेपालको सत्ता चलाइरहेको भन्दै चीन र भारतका लागि पनि राजसंस्था अपरिहार्य भएको दाबी गरेका छन् ।

विवादास्पद छवि भएका प्रसाईले जेनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ जस्ताको बोलवाला भएको अवस्थामा देशलाई कहाँ लैजान खोजिएको भन्दै प्रश्न गरेका छन् ।

प्रसाईले २०४७ सालको संविधान पुनःस्थापना गर्न र त्यहीअनुसार संवैधानिक राजसंस्थासहितको व्यवस्था आउन लागेको भन्दै आफ्ना समर्थकलाई आश्वस्त पारेका छन् । ‘लघुवित्तपीडित, सहकारी पीडित, बैंकबाट कालोसूचीमा परेका र घरबार लिलाम भएका सम्पूर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशैभरि आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु,’ प्रसाईले भनेका छन् ।

प्रसाई लेख्छन्–
हिजोको राजाको शासन एकपटक सम्झिनुस् । गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुँदै आज जेनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ । भनेपछि देश कहाँ पुग्यो र देशलाई कहाँ लगिँदै छ ? त्यही भएर धैर्य गर्नुस राजा,देउता, धर्म र संस्कृति खोपीमै भए पनि चाहिँदो रहेछ, प्रतीक्षा गर्नुस् । बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनःस्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला ।