जेनजी आन्दोलनपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे


काठमाडौं । अफ्रिकी मुलुक माडागास्करमा पनि जेनजी आन्दोलन चर्किएको छ । जसकारण राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्। जेनजीले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कूटनीतिज्ञले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका छन्।

‘हामीले राष्ट्रपति कार्यालयका कर्मचारीसँग सम्पर्क गर्दा उहाँले देश नै छाडिसक्नुभएको भन्ने खबर पायौं,’ विपक्षी दल नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले रोयटर्ससँग भनेका छन्। राष्ट्रपति राजोएलिनाले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका रोयटर्सले जनाएको छ। उनले आफ्नो ठेगाना भने नखुलाएको, तर देश नछाड्ने बताइएको छ।

माडागास्करका एक सैनिक अधिकारीले राष्ट्रपति राजोएलिना आइतबार फ्रान्सेली विमान चढेर देश छाडेको बताएका छन्। फ्रान्सेली रेडियो आरएफआईले पनि राष्ट्रपति राजोएलिनाले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग कुरा गरेको जनाएको छ। सैनिक स्रोतका अनुसार आइतबार माडागास्करको सन्त मारी विमानस्थलमा फ्रान्सेली सैन्य विमान अवतरण भएको थियो।

केही मिनेटमै एक हेलिकोप्टर त्यहाँ पुगेर राष्ट्रपति राजोएलिनालाई लिएर विमानमा चढाइएको भनेर रोयटर्सले लेखेको छ। सेप्टेम्बर २५ देखि सुरु भएका प्रदर्शनहरू सुरुवातमा पानी र बिजुलीको अभावको विरोधमा थिए। जेनजीको आन्दोलनमा सेनाको विशेष इकाइले पनि साथ दिएपछि राष्ट्रपति राजोएलिनाले देशै छाड्नुपर्ने अवस्था आएको हो।