काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहा बालेनले कवितामा किसानलाई फोहर भनेपछि चौतर्फी आलोचना भएको छ । सोमबार साँझ बालेनले लेखेको कविता सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
किसानलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ । उक्त अभिव्यक्तिलाई किसान समुदायमाथिको अपमानको रूपमा लिँदै महासंघले तत्काल स्टाटस हटाई सार्वजनिक माफी माग्न माग गरेको छ ।‘ ‘मुलुकको प्रमुख उत्पादन शक्ति र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका किसान समुदायलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याउने कार्य अत्यन्तै निन्दनीय छ ।
यस्तो अभिव्यक्ति किसान मात्र होइन, सम्पूर्ण श्रमजीवी वर्गमाथि प्रहार हो,’ महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले बालेन साहजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार र विभाजनकारी टिप्पणी आउनु दुःखद भएको जनाएको छ ।
‘राज्यका सबै संरचनाहरूले किसानप्रति सम्मान र समर्थनको भावना राख्नुपर्ने बेला महानगर प्रमुखकै तर्फबाट अपमानजनक अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ महासंघले भनेको छ । महासंघले मेयर साहले आफ्नो उक्त स्टाटस हटाएर सार्वजनिक रूपमा माफी नमागे किसान समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
दंगालले भने, ‘हामी किसानका सम्मान र अधिकारका विषयमा कुनै सम्झौता गर्ने पक्षमा छैनौँ । यदि तिनका भावनामा चोट पुर्याउने अभिव्यक्ति फिर्ता लिएर माफी मागिएन भने अखिल नेपाल किसान महासंघले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।














प्रतिक्रिया