निर्वाचनका लागि संयुक्त सुरक्षा फौज परिचालन गर्ने सुरक्षा समितिको निर्णय


काठमाडौं –सरकारले फागुन २१ मा आसन्न निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ती (पेट्रोलिङ) सुरु गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गरी निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

देशैभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सुरक्षा योजना कार्यान्वयन गराइने र सीडीओको पहिलो प्राथमिकता नै निर्वाचन हुने उनले बताए। गृहमन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनपछि अझै पनि चार सय हतियार बरामद हुन बाँकी रहेकाले ती हतियार रिकभर गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन पनि थप कार्यक्रम ल्याइने जानकारी उनले दिए। अर्यालले आन्दोलनका क्रममा हराएका हतियारहरू संगठित गिरोहमा पुग्न नदिने बताए। राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ।

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बिहान पौने १२ बजेदेखि बसेको थियो । बैठकमा गृहसचिव रामेश्वर दंगाल, रक्षासचिव सुमनराज अर्याल, सेनाका रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायतको उपस्थिति थियो । बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्थासँगै आगामी राजनीतिक गतिविधि,चाडबाडपछि हुनसक्ने राजनीतिक विरोध कार्यक्रमहरुबारे छलफल भएको बताइएको छ ।