काठमाडौं । कात्तिक १४ बाट प्रदर्शनमा आएको चलचित्र ‘परान’ लाई सुरुवातमै हिउँदे झरी बाधक बन्यो । जसकारण सिनेमा हलले पनि उल्लेख्य शो दिन सकेनन् । तर जति दर्शकले चलभित्र हेरे, सबैले तारिफ गर्दै सामाजिक सञ्जाल र मिडियामा लेखेपछि भने ‘परान’ ले पछिल्ला दिन गति लिने संकेत देखिएको छ ।
‘परान’ का निर्माता रञ्जित आचार्यले समेत सुरुवाती दुई दिनको व्यापार सुखद नरहेको बताएका छन् । हल भिजिटका दौरान दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदा पनि व्यापार सुखद नरहेको उनको भनाइ छ । झरीलृ दर्शक हलसम्म आउने वातावरण प्रतिकूल बनेको र चलचित्र हेर्दा दर्शक रोएको दृश्यले गलत सन्देश प्रवाह भएकाले ‘परान’को सुरुवाती व्यापार कमजोर भएको उनको बुझाइ छ ।
‘परान’ प्रदर्शनमा आउनु एक दिनअघि बिहीबारदेखि आइतबारसम्म झरी परेको थियो । हल भिजिटमा जाँदा चलचित्रले दर्शकलाई साँच्चिकै भावुक बनाएका कारण उहाँहरू रोएको उनको भनाइ छ । दर्शक स्वतःस्फूर्त रोएको सन्देश प्रवाह भएसँगै चलचित्र हेर्न दर्शकको उपस्थिति बढेको उनी बताउँछन् ।
शनिबार केही शो घटे पनि आइतबार हाउसफूल भएका हलहरूले शो बढाएको र चलचित्र साँच्चै राम्रो बनेको दर्शकले बुझेकाले हलमा उपस्थिति बढ्दै गएको उनको भनाइ छ ।
नीर शाह शीर्ष भूमिकामा रहेको ‘परान’ मा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठीलगायतको भूमिकालाई दर्शकले निकै मन पराएको सामाजिक सञ्जालमा आएका कमेन्टले पनि पुष्टि गर्छ । ‘परान’ बाटै दीपक आचार्य ‘काकु’ले निर्देशनमा डेब्यू गरेका छन् । चर्चित उद्योगी शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त लगानी रहेको बाइस्कोप सिनेमा प्रालिले ‘परान’ निर्माण गरेको हो । यो चलचित्रले सफलता पाएमा वर्षमा तीन चारवटा चलचित्र बनाउने गोल्छाको भनाइ छ ।














प्रतिक्रिया