काठमाडौं – नेपाली कांग्रेसमा महामन्त्री गगन थापालाई सभापति र भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने मत बढ्दै गएको छ । जारी कांग्रेस केन्द्रीय समिति बैठकमै यो आवाज उठेको हो । पार्टीभित्र मात्र होइन, बाहिर पनि गगनलाई सभापति बनाउने र भावी प्रधानमन्त्रीको घोषणा गरेर गएमा कांग्रेसले राम्रो नतिजा ल्याउने मत बलियो छ ।
कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले आगामी निर्वाचनमा गगन थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव अघि सारेका छन्। बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्सुरले नियमित नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने विचार प्रस्तुत गरे।
‘सकेसम्म नियमित महाधिवेशन र नभए विशेष महाधिवेशन गरेर नयाँ नीति र नेतृत्वमा पार्टीलाई चुनावमा लैजानुपर्छ। कांग्रेसका लागि विशेष महाधिवेशन कुनै नयाँ कुरा होइन,’ उनले भने ।
मन्सुरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गगनलाई समर्थन गरेको बताए । ‘आगामी संघीय निर्वाचनका लागि गगन थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्दै जान केन्द्रीय समितिले निर्णय लिनुपर्छ। उनी लोकप्रिय छन्, धेरै मतले महामन्त्री बनेका थिए र अहिले विशेष महाधिवेशनको मागमा पनि ५४ प्रतिशतले उनको पक्षमा हस्ताक्षर गरेका छन्,’ उनले भने ।
१४औं महाधिवेशनमा मन्सुर सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए। मन्सुरलाई पार्टीमा स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छ ।
गगन थापा पार्टीमा मात्र नभई बाहिर पनि लोकप्रि छन् । अहिले धेरै संस्थापन पक्षका युवा नेता गगनको पक्षमा उभिएका छन् । तर सात भाइ पूर्वपदाधिकारी भने आफ्नो कब्जाबाट पार्टीको नेतृत्व नफुत्कियोस् भन्नेमा छन् । तर पनि ‘गगनलाई सभापति बनाएर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाऔं’ भन्ने आवाज उठ्दै गएको छ ।














प्रतिक्रिया