बाबुराम र जनार्दनले सक्रिय राजनीतिबाट बिदा लिने


काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनार्दन शर्मा अब सक्रिय राजनीतिबाट बिदा लिने मनस्थितिमा पुगेका छन् । बाबुरामले यसअघि नै सक्रिय राजनीति नगर्ने घोषणा गरिसकेका छन् । बाबुरामको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील र रास्वपा परित्याग गरेका सन्तोष परियारको समूह मिलेर बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ मा अध्यक्ष परिषद् घोषणा गरिएको छ । जसमा बाबुराम र जनार्दनको नाम छैन ।

आइतबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गरिएको हो । बाबुरामले नयाँ पार्टीको नाम पढेर घोषणा गरे । पार्टीको चुनाव चिह्न आँखा प्रस्ताव गरिएको छ । नयाँ पार्टीको अध्यक्ष परिषद्मा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोब, अशोक जैसवाल र ओजस्वी भट्टराई छन् ।

जेन–जीसहित विभिन्न क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद् बनाइएको नेताहरूले बताएका छन् । बाबुराम र जनार्दन शर्मालगायतका सिनियर नेताहरू अभिभावकीय भूमिकामा बस्ने भएका छन् । समावेशी नेतृत्व र सामूहिक भावनामा पार्टी चल्ने घोषणा गरिएको छ ।

एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा घोषणापत्र पढेर सुनाउँदै नेता शर्माले पार्टीभित्र एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको बताए । कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालसम्म मात्रै रहन पाउने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

पार्टीका सबै कमिटी स्वायत्त हुने, आफ्नो नेता तथा प्रतिनिधि छान्ने उम्मेदवार छनोट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै दिइने भएको छ । कमिटीमा जनसंख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागी गराइने भएको छ । सामूहिक निर्णय र व्यक्तिगत जवाफदेहिता अनिवार्य हुने घोषणा गरिएको छ । पार्टीका सबै सदस्य अध्ययनशील हुनुपर्ने, तामझाम र रवाफिलो जीवनशैलीको खिलाफमा उभिनुपर्ने, प्रविधिको प्रयोगमा अब्बल र नागरिकको साथी बन्नुपर्ने, हरेक सदस्य इतिहासबारे जानकार, वर्तमानबारे जिम्मेवार र भावी पुस्ताप्रति उत्तरदायी बन्नुपर्ने घोषणा गरिएको छ । पार्टीमा संगठन स्वयंसेवक र अभियन्ता स्वयंसेवीसमेत हुनेछन् ।

बाबुराम र जनार्दन दुवैजनाले माओवादीबाट राजनीति सुरु गरेका हुन् । बीचको केही समय दुवै एकअर्काबाट अलग राजनीतिमा सक्रिय रहे । बाबुरामले चार–पाँचवटा पार्टी चहारे । जनार्दनले भने भर्खर माओवादी परित्याग गरेका हुन् । जनार्दनको गृहजिल्ला रुकुम हो । उनले आगामी निर्वाचनमा उम्मेदवार बन्ने नबन्ने केही बताएका छन् । बाबुराम भने अबदेखि चुनावमा नउठ्ने भएका छन् ।