जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक, मिराज ढुंगानाको समूहलाई लखेट्यो


काठमाडौं – प्रहरीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै पुगेको एउटा जेनजी समूहलाई हटाएको छ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले सिंहदरबार परिसरबाट अन्यत्रै पठाएको हो ।

सोमबार सिंहदरबारको गेटमा ज्ञापनपत्र टाँसेर फर्किएको ढुंगानाको समूह मंगलबार बिहान १० बजे प्रधानमन्त्री कार्यालय जान खोजेको थियो । तर प्रधानमन्त्रीको व्यस्तता देखाउँदै प्रहरीले सिंहदरबार छिर्न नदिएपछि जेनजी समूहले होहल्ला गरेको हो ।

युवाहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई बिजुलीबजारसम्म लगेर छाडेको थियो । जेनजी भन्दै दिनहुँ फरक फरक समूह प्रधानमन्त्री कार्कीलाई भेट्न जान थालेपछि अहिले सिंहदरबार परिसरमा सुरक्षकर्मी बढाइएको छ ।

प्रधानमन्त्री कार्कीले सोमबार आफूलाई भेट्न आउन लागेका कुनै पनि जेनजी समूहसँग कुराकानी गर्न चाहिनन् ।

हान्यायाधिवक्ता सविता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको विषयमा मिडियामा आएका समाचारलाई लिएर जेनजी समूहले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गर्न चाहेका थिए । तर प्रधानमन्त्री कार्कीले कसैलाई पनि भेट्न चाहेकी छैनन् ।