काठमाडौं – दुई दशकदेखि हेटौंडा बजारको मुख्य सडक विस्तारको चर्चा चल्दै, सेलाउँदै आएको छ । यसपटक भने सडकका बीचबाट दायाँ बायाँ २५–२५ फिट विस्तार गर्न सडक डिभिजन कार्यालयले सूचना नै निकालेको छ । यसका लागि सडकको दायाँबायाँ पाँच सय ७० वटा घरटहरा भत्काउनुपर्ने देखिएको छ । यो विषयलाई लिएर विभिन्न दल र समूहले आआफ्नो रोटी सेक्न खोजेका छन् ।
साना एक दर्जन दलले अविलम्ब सडक विस्तार हुुनुपर्ने भन्दै विज्ञप्ति निकालेका छन् । ठूला दलहरूले यसबारेमा केही बोलेका छैनन् । चुनाव नजिकिँदै गरेकाले पनि मतदाता भड्किने ठानेर दलहरू मौन बसेको देखिन्छ । तर नागरिब बचाऊ अभियानका दुर्गा प्रसाई हेटौंडा बजारको सडक विस्तारमा प्रवेश गरेका छन् । उनले यो विषयलाई लिएर सडक तताउने देखिएको छ ।
‘खबरदार सरकार । मकवानपुर–हेटौडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहरा भत्काउने जस्ता काम नगर्नू। मानिसलाई भूमिहीन बनाउने, सुकुम्बासी बनाउने काम तत्काल बन्द गरियोस्,’ प्रसाईले भनेकबा छन् ।
प्रसाईले भारतको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै हुनुपर्ने माग गरेका छन् । ‘भारतमै कुनै गाउँमा रेलवे ट्र्याक वा सडक सञ्जाल विस्तार गर्नुपर्ने भए, त्यहाँका नागरिकहरू सबैभन्दा धेरै खुसी हुन्छन्। किनकि त्यहाँ सरकारले व्यक्तिका जग्गा–जमिनमा काम गर्नुपरेमा सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा पहिला नै दिएर मात्रै परियोजना अघि बढाउँछ। तर हामीकहाँ भने यसको ठिक उल्टो अवस्था देखिन्छ,’ उनले भनेका छन् । आफूहरू सरकारसँग निरन्तर वार्ता र संवादमा रहेको भन्दै प्रसाईले छलफल नै समाधान भएको उल्लेख गरेका छन् ।














प्रतिक्रिया