काठमाडौँ । एमाले केन्द्रीय कमिटी बैठकका कारण ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र पछि सरेको छ । बैठक भृकुटीमण्डपमा बसेको छ । पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने उनले बताए । शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी ओली र ईश्वर पोखरेलले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका छन् । अघिल्लो महाधिवेशनमा प्यानल बनाउन रोकेका ओलीले यसपटक स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका छन् ।
अहिले दुवै पक्ष पदाधिकारीको सूची बनाउन लागिपरेका छन् । खासगरी महासचिव को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा छ । ओली पक्षबाट पदाधिकारीमा पुरानै अनुहार दोहोरिने सम्भावना छ । उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ । महासचिव शंकर पोखरेल नै दोहोरिने छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन् । पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन । सचिवमा पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ । बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीको बलियो दाबी छ । ईश्वर पोखरेल समूह पनि टिम टुंगो लगाउन छलफलमा जुटेको छ ।
ओली समूहमा आकांक्षी बढेका र पदाधिकारीको आकार नबढेकाले असन्तुष्टहरू तान्ने कसरतमा पनि उनीहरू छन् । आजभोलि नै ओली पक्षका केही नेता खुल्ने प्रबल सम्भावना छ । पोखरेल समूहमा अहिलेसम्म योगेश भट्टराईको टुंगो लागेको छ । स्रोतका अनुसार उनी उपमहासचिव उठ्ने पक्कापक्की भएको हो । उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एकजना महासचिव उठ्नेछन् । अर्का उपाध्यक्षमा सेट हुनेछन् । सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन् ।














प्रतिक्रिया