चलचित्र वितरणमा हात हाल्दै अभिनेत्री बेनिशा हमाल


काठमाडौं । अभिनेत्री बेनिशा हमालले चलचित्र वितरणमा हात हालेकी छन् । त्यसका लागि उनले मौरी पिक्चर्स कम्पनी खोलेकी छन् ।

बेनिशाको कम्पनीले ‘द ब्लु प्रिन्ट’ चलचित्रको वितरणको अधिकार लिएको छ । बेनिशाले सन् २०२५ को अन्त्यसँगै नयाँ यात्रामा लागेको उनले जानकारी गराएकी छन् । ‘२०२५ को अन्त्यसँगै म एउटा नयाँ यात्रातर्फ अगाडि बढ्दैछु। मेरो कम्पनी मौरी पिक्चर्समार्फत अब फिल्महरूको डिजिटल अधिकार लिन सुरु गर्ने निर्णय गरेको छु। यो मेरो लागि एक नयाँ सुरुवात हो। एक्जिक्युटिभ प्रोड्युसरको रूपमा द ब्लु प्रिन्ट बाट यो नयाँ अध्याय सुरु भएको छ, र यही फिल्म मेरो यात्राको पहिलो कदम हो,’ उनले भनेकी छन् ।

नयाँ कम्पनी खोलेसँगै फरक उत्साह महसुस गरेको उनले बताएकी छन् । ‘मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन। तर म आशावादी छु, यो यात्राले मलाई धेरै कुरा सिकाउनेछ र फिल्ममेकिङको यात्रामा अझ अगाडि बढ्न मद्दत गर्नेछ। यस उद्योगमा लामो समय बिताउँदा मैले धेरै कुरा सिकेको छु, र अब फिल्ममार्फत केही योगदान दिनु मेरो दायित्व पनि हो भन्ने लाग्छ,’ उनले भनेकी छन् ।

चलचित्र वितरणमा हात हाले पनि बेनिशाले सिनेमामा अभिनयलाई निरन्तरता दिने भएकी छन् ।