सानेपामा नेता विमलेन्द्र निधिमाथि खनिए कांग्रेस कार्यकर्ता, लगाए यस्तो आरोप


काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जान अवरोध भएपछि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरुलाई कार्यालय प्रवेशमा रोक लगाइएपछि गेटबाहिर चर्काचर्की भएको हो ।

प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई गाली गर्दै पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजीसमेत गरेका छन् । यस क्रममा केही नेतासँग कार्यकर्ताको बाझाबाझसमेत भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि र कार्यकर्ताबीच नोकझोक भएको थियो । ५० वर्षदेखि कांग्रेसमा अवसर पाइरहेको भन्दै आफूहरू ‘इजफ’ भन्न आएको उनीहरूको भनाइ थियो । कार्यकर्ताहरूले विशेष महाधिवेशन बोलाउनै पर्ने माग गरेका छन् ।

निधि विशेष महाधिवेशन बोलाउन नहुने भन्दै आइरहेका नेता हुन् । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले पुस २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गरेको पृष्ठभूमिका हिजो केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तल्लो तहका कमिटीलाई विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको परिपत्र गरेका थिए । त्यसपछि देशभरका नेता कार्यकर्ता आक्रोशित भएका छन् । अब उनीहरू विशेष महाधिवेशनको विपक्षमा रहेका नेतामाथि नै खनिन थालेका छन् । अहिले कांग्रेस मुख्यालय वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको छ ।