एनआइसी एसिया लफडा नै लफडाको बैंक


काठमाडौं – एनआइसी एसिया बैंक पछिल्लो समय लफडै लफडाको बैंकले चिनिन थालेको छ । सुरुमा थोरै ब्याजको प्रलोभन देखाएर मानिसलाई आफूतिर तान्ने, तर पछि ऋणीलाई ब्याजको भारी बोकाउने गरेकाले पछिल्लो समय एनआइसी एसिया बैंकप्रति विश्वास तीव्र रूपमा ओरालो लागेको छ ।

बैंकका बहालवाला अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नै नियामक निकाय नेपाल राष्ट्र बैंकले जनही दुई दुई लाख रुपैयाँ जरिवाना तिराएपछि बैंकिङ सेक्टरमा एनआइसीको साख खस्किँदै गएको छ । १८ प्रतिशतसम्म ब्याज असुलेपछि र मनपरी कर्जा प्रवाह गरेको भेटिएपछि एनआइसीका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र सिइओ रोशन न्यौपाने जनही दुई दुई लाख जरिवानामा परेका थिए । त्यसलगत्तै अग्रवाल र न्यौपाने राजीनामा दिएर बाहिरिएका छन् ।

हालै सुनसरीको इटहरीमा एक ऋणीले बैंकको अत्यधिक ब्याजका कारण आत्मदाहको प्रयास गरेका थिए । तर समयमै बैंकका कर्मचारीको प्रयासले उनको ज्यान जोगिएको थियो । उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । उनलाई पनि एनआइसी एसिया बैंकले थोरै ब्याज देखाएर पछि भारी बोकाएको पाइएको छ ।

प्राप्त रिपोर्टअनुसार बैंकले ऋण तिर्न नसकेकाहरुलाई किस्ता तिर्न क्रेडिट कार्डमार्फत क्रेडिट लिमिट दिने गरेको छ । क्रेडिट कार्ड प्रयोगमार्फत बैंकले ऋणीले तिर्न नसकेको ऋणको किस्ता उठाएको छ, र ऋणीलाई आफ्नो ऋणको ब्याजसँगै क्रेडिट कार्ड प्रयोग गरी गरिएको भुक्तानीको महँगो ब्याजसमेत उठाइरहेको छ । ऋण उठाउन क्रेडिट कार्डको विकल्प दिने, सो कार्डबाट बैंककै किस्ताको भुक्तानी तान्ने र ऋणीलाई दोहोरो ब्याजको मारमा पार्ने गरेको पाइएको छ ।

क्रेडिट कार्डको ब्याज यसै पनि महँगो पर्छ । किस्ता तिर्न प्रयोग भएको सो रकम दायित्वकै रुपमा बैंकमा रहन्छ, र यसको ब्याज पनि महँगो पर्छ । केही समयका लागि त ठिकै हो, तर लामो समय ऋण तिर्न नसक्दा ढाड नै सकिने गरी बैंकको ऋण, र ब्याज थपिन्छ । क्रेडिट कार्डमार्फत तिरेको किस्ताको भुक्तानी र साबिकको ऋणको हिसाब गर्दा ऋणीलाई १८ प्रतिशतसम्म ब्याजभार परेको देखिएको छ । सोही कारण अहिले ऋणीले बैंकको क्रेडिट कार्ड लिन छाडेका छन् ।

प्रचलित व्यवस्थाले यस्तो कामलाई गैरकानुनी भन्छ । बैंकले ऋणको किस्ता तिर्नकै लागि थप ऋण प्रवाह गर्न पाउँदैन । क्रेडिट कार्डको प्रयोग पनि बैंकको ऋण तिर्नलाई गर्न पाइन्न । तर गलत नियत राखेर बैंकले गरेको यस्तो गलत कामका कारण ऋणीहरु थप ऋणको भारमा परेका छन् भने बैंकले खराब कर्जा भईसकेका थुप्रै फाइललाई गुड लोन बनाएर सेयरधनी, नियामक राष्ट्र बैंकलगायतका स्टेक होल्डरहरुलाई गुमराहमा राखेको पाइएको छ ।

यसैगरी, एनआइसी एसिया बैंकले ऋणीबाट मनपरी रुपमा असुल गरेको चार अर्ब ३० करोडभन्दा बढी इन्ट्रेस रिबेट रकमको चरम दुरुपयोग गरेको पाइएको छ । बैंकका तत्कालीन अध्यक्ष अग्रवालको ठाडो निर्देशनमा ऋणीलाई फिर्ता गर्नुपर्ने रिबेट रकम तत्कालीन सीइओ न्यापानेको नेतृत्वमा गठित समितिले रकमबाट बैंककै एनपीए मेनेजमेन्ट, एनबीए मेनेजमेन्ट, मार्गिन फर रिकोभरी जस्ता बैंककै आन्तरिक ऋण सेटलमेन्ट गर्नमा खर्चिएको तथ्य भेटिएको छ।

स्थलगत निरिक्षणका क्रममा ऋणीबाट मनपरी बढी ब्याज असुल गरेको तथ्य भेटिएपछि राष्ट्र बैंकले जुन जुन बढी ब्याज लिइएको छ सो ऋणीलाई समानुपातिक रूपमा ब्याज फिर्ता गर्न भनेको थियो । बैंकले खराब ऋणीका खातामा उक्त रकम जम्मा गरी सो रकमबाट चार आर्थिक वर्षमा ३६ अर्ब ३३ करोड बढीको एनपीएल व्यवस्थापन गरेको छ।

राष्ट्र बैंकले समानुपातिक रुपमा ब्याज फिर्ता गर्न निर्देशन दिए पनि बैंकले उक्त रकम मनपरी रुपमा चलाएको पाइएको छ। बैंकको लेखपरीक्षण प्रतिवेदनले खराब ऋणीसँगको मिलेमतोमा बैंकका कर्मचारीहरुले खातामा रकम जम्मा गरी केही रकम अर्को खाताका ट्रान्सफर गरेको र केही क्यास नै निकालेको गम्भीर विषय औल्याएको छ।

झन्डै साढे ३६ अर्ब बराबरको एनपीए व्यवस्थापन गरेको बैंकले राष्ट्र बैंकलाई भने गलत गलत रिपोर्टिङ गरेको भेटिएको छ। यी र यस्तै गलत बिषयको ढाकछोप गर्न तत्कालीन अध्यक्ष अग्रवालले राष्ट्र बैँकका एक उच्च अधिकारीको दवावमा आफू अनुकूल काम गर्ने सर्तमा सुजित शाक्यलाई प्रमुख कार्यकारी अधिकृत बनाएको चर्चा छ।