काठमाडौं – कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार दिउँसो भृकुटीमण्डपमा सुरु हुँदैछ । विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू सहभागी नहुने भएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षर फिर्ता गर्न लगाएर ५१ प्रतिशत पुग्न निकै जोडबल गरिरहेको छ । केही प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको कागज सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम पनि बढेको छ ।
विशेष महाधिवेशन पक्षधरले भने ५१ प्रतिशत प्रतिनिधि सहभागी भए अब नेतृत्व नै परिवर्तनको घोषणा गर्ने तयारीमा जुटेका छन् । नेता देवराज चालिसे र गुरुराज घिमिरेले त्यसको जनाउ दिइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको नाम पनि सुन्न नचाहँदा पार्टी विभाजनको डिलमा पुगेको हो ।
कांग्रेसमा सभापति देउवा पक्ष र विशेष महाधिवेशन पक्षधरहरुबीच भएको छलफलमा दुवै पक्षको अडान कायमै रहेकाले कुनै सहमतिको बिन्दु फेला नपारेको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
विशेष महाधिवेशनको पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् । देउवाका तर्फबाट रमेश लेखक, उमेश श्रेष्ठ, विनोद चौधरीलगायतले सहमतिको प्रयास गरेका थिए । तर देउवाले विशेष महाधिवेशनको नाम पनि सुन्न नचाहेको पक्षधरको आरोप छ ।
आइतबार बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ता ९ बजेसम्ममा करिब १० प्रतिशतले गराइसकेको आयोजकले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
शिवाकोटीले महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको बताए ।
देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए। शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरूसमेत महाधिवेशनस्थलमा भेला हुन थालेका छन् ।
यदि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हलबाट नयाँ नेतृत्व चयन गरेमा आफूले रोक्न नसक्ने महामन्त्री गगन थापाले बताइसकेका छन् । तर संस्थापन भने विधानको केही धारा र कानुनी व्याख्या गर्दै मूल पार्टी आफू नै रहने भन्दै ढुक्क देखिएको छ ।











प्रतिक्रिया